एमालेले लगायाे गुराँस गाउँपालिकामा ताल्चा!!





सुर्खेत।नेकपा एमाले गुराँस गाउँ कमिटिले दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेकाे छ । पटक-पटक सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गर्नुपरेकाे नेकपा एमाले गुराँस गाउँ कमिटिले जनाएको छ ।

वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीद्बवारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकुँडा, सिलाई मेसिन र फिल्टरलगायतका सामानहरू अपारदर्शी तरिकाले अन्यत्र लैजान खोजिएको त्यस विषयमा गाउँपालिका उद्देश्यका विषयमा जानकारी दिनुपर्ने अध्यक्ष वलीले बताए । ‘सार्वजनिक सम्पत्ति हिनामिना हुन थालेपछि हामीले तालाबन्दी गर्नु परेको हो,’ उनले भने,‘पटक पटक सार्वजनिक सम्पत्तिको हिनामिना हुँदै आएको छ ।’

सार्वजनिक सम्पत्तिको दोहन नरोकिएसम्म अनिश्चितकालसम्म तालाबन्दी गर्ने एमाले गुराँस गाउँपालिकाले जनाएको छ ।