सुर्खेत : प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो।
तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ।
कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे। यसैगरी विपिन शाहीले २८, हिमान्शु शाहीले अविजित २४, निश्चल रावलले २१ र कप्तान रविन्द्र शाहीले १२ रन बनाए।
दोस्रो विकेटका लागि अर्जुन र निश्चलले ४८ रनको साझेदारी गरे। कोशीका लागि हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ३४।३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो।
0 Comments
Post a Comment