मौसम पूर्वानुमान :  सतर्क रहन मौसम विद्काे अनुरोध, आज पनि भारी वर्षाको सम्भावना




मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज पनि दशैभर पानी पर्ने सम्भावना रहेको छ। सोमबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। काठमाडौं उपत्यका आसपास, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको उनले बताए।

भीषण वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी‚ खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।