सुर्खेतमा पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण


सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अस्पतालले हालै २ जना महिलाको सफलतापूर्वक जोर्नी प्रत्यारोपण गरेको हो ।


दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकास्थित विशाला घर भएकी ४० वर्षीय रंगा विक र कालिकोट घर भएकी ६४ वर्षीय दीपा महत्तराको जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता एवंम् कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डाक्टर विकास केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

उनीहरु दुबैजनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेशनमार्फत प्रत्यारोपण गरिएको डाक्टर केसीले बताए ।

बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको हो । यसका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ डाक्टरहरुको टिम रहेको डाक्टर केसीले जानकारी दिए ।

हाडजोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्यालाई कर्णालीमै समाधान गर्न सफल भएको अस्पतालका निर्देशक डाक्टर डम्बर केसीले बताए । वुटवलदेखि यता पश्चिम नेपालका विभिन्न शहरहरुमध्ये पहिलो पटक सुर्खेतमा सफल प्रत्यारोपण गरिएको उनको दाबी छ । प्रदेश अस्पतालमै हाडजोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई राहत प्रदान गर्न सकिने केसीले बताए ।

हाडजोर्नी प्रत्यारोपणका लागि विरामीको अवस्थाअनुसार कम्तिमा पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च हुनेभएपनि स्वास्थ्य वीमा भएका विरामीका लागि प्रदेश अस्पताल उपकरण खर्च मात्रै लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डाक्टर केसीका अनुसार सफल प्रत्यारोपण गरिएका ती दुई जना विरामीको दुईदेखि दुई लाख पचास हजारसम्म खर्च भएको छ । उनीहरु दुबैजनाको स्वास्थ्य वीमा भएकोले खर्च कम भएको हो ।

हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डाक्टर केसीले जानकारी दिए ।
अस्पतालका निर्देशक डाक्टर खड्काले प्रदेश अस्पतालमा भौतीक संरचना, अप्रेशन सामाग्री र जनशक्ति समेत भएकोले यस्तो खालको जटिल शल्यक्रिया सम्भव भएको बताए ।

कर्णाली प्रदेश अस्पतालले जटिल खालका शल्यक्रिया सुरु गरेदेखी बिरामीको संख्या दोब्बर जस्तै भएको बताए ।
यो सेवालाई निरन्तर दिने भन्दै डा. खड्काले कर्णाली प्रदेश अस्पताललाई हेल्थ टुरिजम्का रुपमा विकास गर्न खोजेको भन्दै उनले कर्णालीमा पहिलो पटक सफल भएको जानकारी दिए ।