जटिल रोगको उपचार कर्णालीमै!!




सुर्खेत — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ का २२ वर्षीय युवक दुवै मिर्गौलामा खराबी आएपछि ५ वर्षदेखि डाइलासिस गराउँदै आएका थिए । आर्थिक अवस्था कमजोर भएकाले समयमै मिर्गौला प्रत्यारोपण गर्न नसकेका उनले नेपालमात्र हैन भारतका विभिन्न अस्पताल पुगेर डाइलाइसिस गराए ।

‘निजी अस्पतालमा प्रत्यारोपण गर्न १५ देखि २० लाखसम्म खर्च लाग्थ्यो, पैसाको जोहो गर्न नसक्दा प्रत्यारोपन गर्न सकेको थिएन,’ सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा झन्डै दुई महिनाअघि मिर्गौलाको सफल प्रत्यारोपण गरेका उनले भने, ‘निःशुल्क प्रत्यारोपण गर्न पाइयो, अहिले कर्णालीले नै मलाई जीवनदान दिएको अनुभूति भएको छ ।’ उनी कर्णालीमा मिर्गौला प्रत्यारोपण हुने थाहा पाएपछि यहाँ आएका हुन् ।

कालीकोट शुभकालिका गाउँपालिका–६ की नैना सुनारले एक महिनाअघि प्रदेश अस्पतालमै कम्मरको जोर्नी प्रत्यारोपण (हिप रिप्लेसमेन्ट) गरिन् । उनले त्यसका लागि नेपालगन्ज मेडिकल कलेज, काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताललगायत विभिन्न अस्पताल धाइन् । पछि कर्णाली प्रदेश अस्पतालमै आफ्नो उपचार सम्भव भएको उनको भनाइ छ । ‘अरू अस्पतालमा कम्तीमा ५ लाख रुपैयाँ लाग्छ भने । त्यत्रो खर्च जुटाउनै समस्या थियो,’ उनले भनिन्, ‘आफ्नै प्रदेशमा जोर्नी प्रत्यारोपण गराउन पाइयो, अहिले स्वास्थ्यमा सुधार हुँदै छ ।’ उनले अस्पतालमा दुई लाख रुपैयाँमै कम्मरको जोर्नी प्रत्यारोपण गराएकी हुन् । आफूजस्तै कतिपय दुर्गमका महिलालाई आर्थिक अवस्था कमजोर हुँदा सामान्य उपचारबाट वञ्चित भएको उनको भनाइ छ ।

कर्णाली प्रदेश अस्पतालले २ वर्षदेखि हिप रिप्लेसम्यान गरिरहेको जनरल सर्जन डा. विकास खड्काले बताए । उनका अनुसार प्रदेश अस्पतालले क्यान्सरका सानातिना अप्रेसनसमेत गर्दै आएको छ । ‘पेटका सबैखाले अप्रेसन हुन्छन्, मिर्गौला प्रत्यारोपण सुरु गरेयता सबैको विश्वास पनि बढिरहेको छ,’ उनले भने । उनले अस्पतालमा मुटु र क्यान्सरको जटिल शल्यक्रियाबाहेक सबै प्रकारका रोगको उपचार भइरहेको बताए । पछिल्लो समय कर्णाली अस्पताल भरोसाको केन्द्र बनेको जनाए ।

अस्पतालले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वयमा गत माघ २१ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले काठमाडौंले सबै बिरामीको चाप थेग्न नसक्ने भएकाले कर्णालीमा केन्द्रका चिकित्सकको प्रत्यक्ष निगरानीमा मिर्गौला प्रत्यारोपण भइरहेको बताए ।

२०१९ सालमा स्थापना भएको जिल्ला अस्पताल २०७५ मा कर्णाली प्रदेश अस्पतालका रूपमा रुपान्तरण भएको हो । दक्ष चिकित्सकको अभाव झेल्दै आए पनि अस्पताल पछिल्लो समय कर्णालीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही जिल्लाका बिरामीको भरोसाको केन्द्र बनेको स्थानीय कृष्ण श्रेष्ठले बताए । ‘पहिला बिरामी हुनासाथ नेपालगन्ज र काठमाडौं कुद्नुपर्थ्यो,’ उनले भने, ‘अहिले घरआँगनमै ठूलो रोगको उपचार हुन्छ ।’ प्रदेश अस्पतालमा आँखाको शल्यक्रिया, फिस्टुलाको उपचारसहित अधिकांश अप्रेसनको सुविधा छ ।

अस्पतालले कर्णालीमा फिस्टुलाका बिरामी बढ्दै गएपछि १७ बेडको उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । अस्पतालमा विभिन्न १२ वटा अप्रेसन थिएटर छन् । जसमा ६ वटा मोडुलर हुन् । सोलार प्लान्टबाट ५ सय बिरामी र अस्पतालका कर्मचारीलाई खाना पकाउने व्यवस्थासमेत गरिएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए । उनका अनुसार अस्पतालमा १९ शय्याको आईसीयू र १३ बेडको एनआईसीयू सञ्चालनमा छ । गत वर्ष १ लाख ९१ हजार बिरामीले ओपीडीमार्फत सेवा पाएको अस्पतालले जनाएको छ ।

निर्देशक डा. खड्काले ५ वर्षअघिसम्म आवश्यक उपकरण नहुँदा बिमारले छट्पटाएका बिरामी जिल्ला बाहिर रेफर गर्दाको पीडा झल्झली याद आउने बताए । ‘कतिपय बिरामीले त रेफर गर्दागर्दै बाटोमै ज्यान गुमाए, त्यो दुःख सम्झेर सबै प्रकारका बिरामीको उपचारमा चाहिने उपकरणको जोहो गरिएको छ,’ उनले भने, ‘केही विशेषज्ञ चिकित्सकको अभाव भए पनि अहिले सबै खाले शल्यक्रिया र उपचार प्रवाह गरिरहेका छौं ।’

मिर्गौला प्रत्यारोपण पनि अस्पतालबाट गर्न थालेपछि छिमेकी प्रदेशका अस्पतालहरूबाट पनि बिरामी रेफर हुन थालेको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा बर्सेनि झन्डै ९ हजार सानाठूला अप्रेसन हुन्छन् । गत वर्ष झन्डै ६ हजार बिरामीको जटिल शल्यक्रिया गरिएको उनको भनाइ छ । गत वर्षभन्दा यो वर्ष बिरामीको चाप झन्डै ५३.४३ प्रतिशतले बढेको उनले जनाए ।

अस्पतालले जनरल मेडिसिन, सर्जरी, न्युरो सर्जरी, बाल रोग, स्त्री रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसा रोग, डाइलासिस, रक्त सञ्चारलगायतका सेवा दिँदै आएको छ । तर जनशक्ति अभावको समस्या भने कायमै रहेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । उनका अनुसार अस्पतालमा ३ सय २५ दरबन्दी रहेकोमा १ सय ५२ जना मात्र स्थायी छन् । अस्पतालले धेरैजसो छात्रवृत्ति र करारका विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरिरहेको छ । उनले २२ जना स्थायी चिकित्सक कार्यरत रहेको जानकारी दिए ।

अस्पतालमा करारसहित ४८ विशेषज्ञ चिकित्सक, ३५ जना मेडिकल अधिकृत र १ सय ९१ जना नर्सिङ कर्मचारी कार्यरत छन् । अस्पतालमा पछिल्लो समय मिर्गौलाको पत्थर फुटाल्ने लेजर मेसिन, स्तनको क्यान्सरको निदान गर्ने मेसिन, छालाको दाग हटाउने लेजर मेसिन र ७ वटा अक्सिजन भ्याकुम प्लान्ट सञ्चालनमा छन् । त्यस्तै मिर्गौलाको डाइलासिस मेसिन, न्युरोलोजीका विभिन्न उपकरण र एमआरआई मेसिन पनि अस्पतालमा जडान गरिएको उनले बताए ।

अस्पतालमा अहिले दैनिक ३० वटासम्म अप्रेसन हुने गरेका छन् । टाउको, मेरुदण्ड, हिप रिप्लेसमेन्ट, आँखाको शल्यक्रिया, पित्तथैली र मिर्गौलाको पत्थरीको शल्यक्रियालगायतमा बिरामीको चाप बढी रहेको अस्पतालले जनाएको छ । स्त्री रोग विशेषज्ञ डा. कृतिका थापाले प्रसूति सेवामा काठमाडौंको शिक्षण अस्पतालभन्दा बढी चाप प्रदेश अस्पतालमा रहेको बताइन् । उनका अनुसार सुर्खेतमा नेपाली सेनाको एयर बस स्थापना भएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबाट जटिल अवस्थाका गर्भवतीलाई प्रदेश अस्पतालमै सेनाको हेलिकोप्टरले चार्टर गरेर ल्याउने गरिएको छ ।

अस्पतालको तथ्यांकमा आर्थिक वर्ष २०७०/८० मा ५ हजार ४ सय २५ जना प्रसूति भएकोमा १ हजार ४ सय ७५ जनाको शल्यक्रिया गरिएको थियो । अहिले अस्पतालले ३ सय बेडबाट उपचार सेवा दिइरहेको छ । अस्पतालमा बिहान ८ बजेबाट ओपीडी सेवा प्रवाह भइरहेको छ । अस्पतालले कर्णालीमा आउने चिकित्सक र स्वास्थ्यकर्मीलाई उत्साही गर्न ९ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरेको छ भने शल्यक्रिया समूहका चिकित्सक र स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको छ ।

प्रदेश अस्पताले एमडीएमएस कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारले सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना विधेयक पारित गरेपछि चालु आर्थिक वर्षबाटै एमडीएमएस अध्ययनका लागि आवश्यक तयारी थालिने निर्देशक डा. खड्काले बताए । उनका अनुसार स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा आएपछि कर्णालीका कुनै पनि जिल्लामा विशेषज्ञ डाक्टरको अभाव हुने छैन । जसका लागि प्रदेश सरकारले कर्णाली प्रदेशसभामा विधेयक लैजाने तयारी गरेको उनले जानकारी दिए । सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक प्रदेशसभाबाट पारित हुने समय कुरिरहेको बताए । उनका अनुसार अस्पताललाई ५ सय शय्याको बनाउने तयारी भइरहेको छ ।

कर्णाली प्रदेशमा जटिल रोगको उपचार मात्र होइन, डाक्टर पनि उत्पादन गर्दै आएको छ । २०६८ सालमा स्थापना भएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ वर्षदेखि जुम्लामै एमबीबीएस पढाइरहेको छ । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले अबको दुई वर्षमा ८० जना एमबीबीएस चिकित्सक उत्पादन भइसक्ने जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा विभिन्न १३ वटा विषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन भइरहेको छ । यो वर्ष झन्डै ४ सय ५० विद्यार्थी प्रतिष्ठानमा अध्ययनरत छन् ।

प्रतिष्ठानले एमजीडीपी, एमबीबीएस, बीएमएस, बीएनस, बीपीएच, बी फर्मालगायतका विषय अध्यापन गराइएको छ । ‘कुनै बेला कर्णालीमा सिटामोल नपाएरै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले समय फेरिएको छ, दुर्गममै डाक्टर उत्पादन गर्ने गरी सुगमका विद्यार्थीलाई डाक्टरी र विशेषज्ञ शिक्षा दिइरहेका छौं ।’ प्रतिष्ठानमा ४ वटा शिक्षालय स्थापना गरिएको छ । प्रतिष्ठानले स्कुल अफ नर्सिङ, स्कुल अफ मेडिसियन, स्कुल अफ फार्मेसी र स्कुल अफ पप्लिक हेल्थमार्फत दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गरिरहेको हो ।

प्रतिष्ठानको शिक्षण अस्पतालमा दैनिक झन्डै ६ सय बिरामीले उपचार सेवासमेत लिइरहेका छन् । प्रतिष्ठानमा अहिले ३ सय शय्याको उपचार सेवा प्रवाह भइरहेको छ । दैनिक ३० जना हाडजोर्नीका बिरामी भर्ना हुने गरेको अस्पतालको तथ्यांक छ । अधिकांश बिरामी हुम्ला, कालिकोट, मुगु र डोल्पाबाट आउने गरेको शिक्षण अस्पतालका निर्देशक एवं हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले बताए । उनका अनुसार अस्पतालमा अहिले सबैखाले रोगको शल्यक्रिया सेवा प्रवाह भइरहेको छ ।

चालु आर्थिक वर्षमा ५ सय २० जना हाडजोर्नीका बिरामी निको भएर घर फर्किएका छन् । प्रतिष्ठानले गत वर्ष झन्डै २ लाख बिरामीको उपचार गरेको थियो । जसमा ४ हजार ३ सय ८५ जनाको मेजर अप्रेसन गरिएको उनले जानकारी दिए ।

साभार:E-kantipur